के चुरोटको सेवनले ब्रेन स्ट्रोक हुन्छ?

Joynepal

कमै मात्र सुनिने रोगमा पर्छ, स्ट्रोक । यसका बारेमा त्यति धेरै नसुनिए पनि यो जटिल रोगमध्ये एक हो । यो दिमागसँग सम्बन्धित रोग हो ।

यो मस्तिष्कमा रक्तनलीको अवरुद्ध वा चुहावटका कारण हुन्छ, जसले गर्दा अक्सिजन र पोषक तत्वहरुको आपूर्ति पर्याप्त मात्रामा हुँदैन र परिणामस्वरुप मस्तिष्क कोषहरुमा हानी पुग्छ र कोषहरु मर्छन् ।

यसले गर्दा मस्तिष्कले केही काम जस्तै हात पाखुराहरुको हलचल र बोलीको नियन्त्रण गुमाउँछ । केही बिरामीहरुमा स्वयम् हेरचाह गर्ने क्षमता कम हुन सक्छ । स्ट्रोक कस्तो रोग हो ? यसका जटिलताहरु के–कस्ता रहेका छन् ? यसको रोकथाम र न्यूनीकरणका उपायहरु के हुन्, लगायतका विषयमा केन्द्रित रहेर डा. सुवास फुयाँलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तवार्ताको सम्पादित अंश:

स्ट्रोक कस्तो खाले रोग हो ?

स्ट्रोक भनेको दिमागमा लिएर जाने रगतको नशामा नशा नै बन्द भयो भने त्यसलाई स्ट्रोक, मस्तिष्कघात वा ब्रेन अट्याक भनिन्छ । स्ट्रोक दुई प्रकारका हुन्छन् । पहिलो भनेको दिमागको नशा बन्द भएर हुने स्ट्रोक मस्तिष्कघात हो । अर्को भनेको दिमागको नशा फुटेर हुने ब्रेन ह्यामरेज हुन्छ । ब्रेन ह्यामरेजको अर्थ मस्तिष्कमा रक्तश्राव अथवा रगत जम्नु हो । यो स्ट्रोकको ठीक उल्टो अवस्था हो । यसमा अत्यधिक रक्तसञ्चार भएर रगत जम्दछ । ब्रेन ह्यामरेजले पनि मस्तिष्कलाई क्षति पुर्‍याएर पक्षघातको समस्या निम्त्याउन सक्छ ।

यो रोग लाग्ने मुख्य कारण के हो ?

यो रोग लाग्नुको मुख्य कारण भनेको पहिलो त उमेर नै हो । अर्को भनेको हाम्रो जीवनशैलीको कारण पनि स्ट्रोक हुने गर्दछ । हामीले आफ्नो लागि समय छुट्टयाएकै हुँदैनौ । दिनमा कम्तिमा आधा घन्टाको समय छुट्याएर व्यायाम गर्न आवश्यक छ ।

अरु भनेको ब्लड प्रेसर र मधुमेहका बिरामीहरु, जसले नियमित रुपमा औषधीको सेवन नगर्नेहरुमा साथै हाइपरटेनसनको समस्या भएका व्यक्तिहरुमा पनि स्ट्रोकको समस्या देखिन्छ । मोटोपना भएका, खानपिनमा ध्यान नदिने, चिनीको धेरै सेवन गर्ने, धेरै नुनिलो चीजहरु खाने, बोसो धेरै भएका खानेकुराहरु खाने, मद्यपान, धुम्रपानको सेवन गर्ने, धेरै तनाव र चिन्ता लिने मानिसहरुमा यो समस्या देखिन्छ । अर्को भनेको कम उमेरका मानिसहरुमा पनि यो समस्या देखिँदै जानुको कारण भनेको मुटु रोगीका बिरामीहरुले राम्ररी औषधीको सेवन नगर्दा हो ।  महिलाहरुमा भने हर्मोनल गडबढी हुने भएकाले स्ट्रोकको समस्या बढी देखिन्छ ।  

स्ट्रोक हुँदा के–कस्ता लक्षणहरु देखा पर्दछन् ?

स्ट्रोक हुँदा बिरामी अचानक बेहोस हुने अथवा अर्धचेत अवस्थामा पुग्ने, टाउको दुख्ने, आँखा धमिलो हुने, एक पाटो हात/गोडा लुलो भई प्यारालाइसिस अथवा पक्षघात हुने, छारे रोग वा शरीरमा कम्पन हुन हुनसक्छ । स्ट्रोक भएको केही दिनदेखि १/२ सातासम्म असर परेको मस्तिष्कको भाग वरिपरि सुन्निन्छ र त्यसले दिमागको प्रेसरलाई बढाएर मस्तिष्कलाई थप क्षति पुर्‍याउँदछ ।

त्यसैले स्ट्रोक भएको बिरामी पहिलो केही दिनदेखि केही साता झनै नाजुक हुँदै जान्छ र अन्तिममा मृत्यु पनि हुनसक्छ । यदि यस्तो बिरामीलाई बचाउन सकियो भने केही सातापछि स्ट्रोक शान्त (क्रोनिक) अवस्थामा जान्छ र बिस्तारै लक्षणमा सुधार आउन थाल्दछ ।

यो रोगको उपचार विधिको विषयमा बताइदिनुहोस् न ?

यो रोगको उपचार दुई विधिबाट गर्न सकिन्छ । पहिलो रगतको ढिका वा कुनै पनि कुराले नशा बन्द भयो भने त्यसलाई औषधीको सेवन गरेर पगाल्ने गरिन्छ । यो औषधीले मोटो नशाा बन्द हुँदा काम गर्दैन र पातलो नशा बन्द हुँदा मात्रै काम गर्छ ।

अर्को भनेको अहिलेको नयाँ प्रविधि छ न्युरोइन्टरभेन्सन, जसमा हात वा खुट्टाको नशाबाट एउटा तारको माध्यमबाट दिमाखको नशा बन्द भएको ठाउँसम्म पुगेर एउटा तान्ने एउटा झिरजस्तो पदार्थ हुन्छ । त्यसले तानेर हामी बाहिर निकाल्छौं । यो भनेको दिमागको नशा बन्द भएको चौबीस घन्टाभित्र बिरामी उपचारमा आउनुभयो भने पहिलेकै अवस्था जस्तै हिँड्न, बोल्न सक्ने बनाएर पठाउन सकिन्छ ।

यो रोग लाग्न नदिन कसरी संयमता अपनाउने ?

यो रोग लाग्न नदिन दैनिक व्यायाम गर्ने, रक्सी, चुरोटको सेवन नगर्ने र स्वस्थकर खानपान गर्नाले यो रोगबाट बच्न सकिन्छ ।

महिला र पुरुषको हकमा यसका बिरामीहरु कुन वर्गका बढी छन् ?

महिला र पुरुषको तुलना गर्नुपर्दा महिलाहरुमा यो रोग बढी मात्रामा देखिने गर्दछ ।

के यो रोग वंशाणुगत कारणले पनि लाग्ने गर्छ ?

यो रोग लाग्नुमा वंशाणुगत सम्बन्ध केही पनि हुँदैन ।

यो रोग लागेका बिरामीहरुको खानपान र जीवनशैली कस्तो हुनुपर्छ ?

यो रोग लागेका बिरामीहरुको खानपानमा आर्टिफिसियल चिनी खान कम गर्ने, तथापि फलफूलमा हुने गुलियोपनले भने असर गर्दैन । चिल्लो खानेकुराहरुको सेवन निकै कम गर्ने, यस रोगका बिरामीहरुले निन्द्रामा पनि विशेष ध्यान दिनुपर्दछ । कम्तीमा आठ घन्टा निदाउनैपर्छ । घरभित्र र बाहिर पनि व्यायाम गर्नुपर्छ ।

कुन उमेर समूहका व्यक्तिहरुलाई यो रोग बढी मात्रामा देखिने गर्दछ ?

खास गरेर साठी वर्ष पार गरेका व्यक्तिहरुमा यो रोगले सताउने गर्दछ । यसका अलावा हामीले २२/२३ वर्षका बिरामीदेखि नब्बेको दशक पार गरेका बिरामीहरुको पनि उपचार गरिरहेका हुन्छौँ ।

यो कत्तिको जटिल र प्राणघातक रोग हो ?

स्ट्रोक रोग लागेर मानिसको ज्यानै समेत जान सक्छ । तर सही समयमा औषधी उपचार पायो भने रोगलाई परास्त गरेर मान्छे पहिले जस्तै सामान्य अवस्थामा फर्कन सक्छ । मेरो उपचार अनुभवमा यतिसम्म भएको छ कि, एक एकानब्बे वर्ष उमेर हुनुभएकी वृद्ध आमाको उपचार गरेर उहाँलाई पहिलेजस्तै बोल्न, हिँड्डुल गर्न सक्ने बनाएर फर्काएका छौं ।

अन्य देशहरुमा समेत नब्बे वर्ष पार गरेर स्ट्रोक भएको व्यक्तिको उपचार गरिँदैन । यसकारण सहि समयमा उपचार नितान्त आवश्यक छ ।

source from: https://joynepal.com/2024/03/18257/