‘न्युरो–इन्टरभेन्सन’मा डा. सुवासको सङ्घर्ष
भारतबाट ‘न्युरो–इन्टरभेन्सन’सम्बन्धी अध्ययन गरेर फर्केपछि डाक्टर सुवास फुयाँलले भन्न थाले — मैले एनुरिजम (दिमागको नसा फुलिएर फुट्ने रोग), ब्रेन ह्यामरेज र मस्तिष्कघातको उपचार चिरफार नगरी गर्छु । सुरुमा भर्खरको केटो भनेर उनलाई पत्याइएन ।
‘मानिसहरूले भनेको सुनेँ — भर्खरको केटो छ, उपचार गर्न सक्ला र ! त्यसपछि मैले पाको देखिन दाह्री पाल्न थालेँ,’ डा. फुयाँल भन्छन्, ‘उमेर पुगेका व्यक्तिमा मात्र ज्ञान वा सीप हुन्छ, युवामा हुँदैन भन्ने होइन । सुरुका तीन महिना मलाई काम पाउनै मुस्किल भयो ।’
२०१९ को मार्चमा उनले आफ्नो पढाइ अनुसारको पहिलो उपचार गर्ने अवसर पाएका थिए । एक महिलालाई स्ट्रोक (मस्तिष्कघात) भएको १५ घन्टामा उपचारका लागि ल्याइएको थियो । ती महिलालाई गर्भवती बुहारीले अस्पताल ल्याएकी थिइन् । उनलाई अस्पतालका कर्मचारीले भनेछन्, ‘न्युरो–इन्टरभेन्सनमार्फत उपचार गर्ने डाक्टर त आउनुभएको छ, तर उहाँ नयाँ हो । उहाँले अहिलेसम्म न्युरो–इन्टरभेन्सनमार्फत मस्तिष्कघातको उपचार गर्नुभएको छैन ।’
१५ घन्टापछि ल्याइएकाले पनि ती बिरामीको दिमागको केही हिस्सा ड्यामेज भएको थियो । यो उपचार सफल हुन्छ या हुँदैन भन्नेमा सुवासलाई केही शंका थियो । ‘भित्रभित्र मलाई एक खालको डर पनि लागिरहेको थियो । बिरामीकी बुहारीले उपचार हुने ठूलो आशा गर्नुभएको थियो । अझै पनि मलाई उहाँको अनुहार याद हुन्छ,’ सुवास भन्छन्, ‘निन्याउरो मुख लगाएर उहाँ भन्दै हुनुहुन्थ्यो — डाक्टर साब, तपाईं उपचार गर्न सक्नुहुन्छ, गरिदिनुस् । उहाँले बारम्बार आग्रह गरिरहनुभयो ।’
सुवासले तारका माध्यमबाट बिरामीको मस्तिष्कको नसामा जमेको रगत निकाले । त्यसपछि बिरामी बोल्न र हात–खुट्टा चलाउन सक्ने भइन् ।
सुवासका अनुसार, शल्यक्रियाविना हात वा खुट्टाको नसाबाट क्याथेटर (तार) छिराएर मस्तिष्कको नसामा जहाँ रगत जमेको छ, त्यहाँ उपचार गर्ने प्रविधि नै ‘न्युरो–इन्टरभेन्सन सर्जरी’ हो । मस्तिष्कमा बन्द भएको नसा सुन्निएर फुटेको, च्यातिएर ह्यामरेज भएको र मस्तिष्कघात हुँदा दिमागको कुनै नसा बन्द भएको छ भने ‘न्युरो–इन्टरभेन्सन’ पद्धतिबाट उपचार गरिन्छ । नेपालमा यस्तो विधिबाट उपचार २०१९ को फेब्रुअरीदेखि ग्रान्डी अस्पतालबाट सुरु गरिएको थियो ।
रेडियोलोजीपछि ‘न्युरो–इन्टरभेन्सन’को अध्ययन
झापा सुरुङ्गाका सुवासले आईएससी पढ्दासम्म मेडिकल क्षेत्रमा आउँछु भन्ने सोचेकै थिएनन् । साइन्स लिएर पढ्दै गर्दा उनलाई बुवाले भनेका थिए, ‘मेरा दुई छोरामध्ये एउटा डाक्टर बन्नुपर्छ ।’ यसपछि नै सुवास एमबीबीएस प्रवेश परीक्षाको तयारीमा जुटेका हुन् ।
नाम निकालेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनले एमबीबीएस गरे । यसपछि उनलाई ‘रेडियोलोजी’ पढ्ने इच्छा भयो । भारतको ‘पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च इन्स्टिच्युट’ चण्डीगढमा रेडियोलोजी पढ्नका लागि उनले नाम निकाले । रेडियोलोजी पढ्न सार्क राष्ट्रका लागि वर्षमा दुईदेखि तीन सिट मात्र छुट्ट्याइन्थ्यो । त्यसमा उनी चयन भए ।
त्यहीँको रेडियोलोजी विभागमा ‘न्युरो–इन्टरभेन्सन सर्जरी’ विषयको पढाइ हुन्थ्यो । अध्ययन गर्ने क्रममा ‘न्युरोइन्टरभेन्सन’ विभागमा पनि बेला–बेला उनी जानुपथ्र्यो । त्यतिबेलासम्म इन्टरभेन्सन रेडियोलोजीबाट ‘स्ट्रोक’को उपचार हुने उनलाई थाहा थिएन । त्यस विभागमा तीन महिनाजति बस्नुपर्दा उनले एक स्ट्रोक बिरामीको उपचार भएको हेर्ने अवसर पाएका थिए । ती बिरामीको एउटा हात र एउटा खुट्टा चल्दैनथ्यो भने बोली समेत लर्बराएको थियो । त्यहाँका सिनियर टिचरहरूले ती बिरामीको खुट्टाबाट तार छिराएर मस्तिष्कसम्म पु¥याए । अनि ती बिरामीको बन्द भएको दिमागको नसा खुल्यो र हातखुट्टा चलाउन थाले । ‘अहो, म त अक्क न बक्क परेँ,’ सुवास त्यो क्षण सम्झन्छन्, ‘हेर्दाहेर्दै जादुजसरी बिरामीको उपचार भएको थियो ।’
त्यसरात उनलाई निद्रा लागेन । सोच्न थाले, मस्तिष्कघातको उपचार यसरी पो हुँदो रहेछ ! रेडियोलोजीको पढाइ सकेर उनी सन् २०१५ मा नेपाल आए र ग्रान्डी अस्पतालबाट काम सुरु गरे । ‘त्यहाँ मस्तिष्कघातका बिरामी आउँथे तर उपचार गर्ने डाक्टर थिएनन्,’ सुवास भन्छन्, ‘त्यहाँका सहकर्मी साथीहरू न्युरो–इन्टरभेन्सनका बारेमा कुरा गरिरहन्थे । यसबारे अध्ययन गरेमा धेरैभन्दा धेरै बिरामीलाई बचाउन सकिन्छ भन्ने मलाई लाग्यो ।’
त्यसपछि सन् २०१६ तिर उनी ‘न्युरो–इन्टरभेन्सन’सम्बन्धी तीन वर्षको डीएम कोर्स गर्न भारतको ‘अल इन्डिया इन्स्टिच्युट्स अफ मेडिकल साइन्सेस’ (एआईआईएमस) अस्पताल गए । त्यतिबेला भारतमा पनि मस्तिष्कघातसम्बन्धी उपचार भर्खर मात्र सुरु भएको थियो । यो विषय पढेकालाई भारतमै पनि प्रशस्त अवसर थिए । यो पढाइ पूरा गरेर युरोप–अमेरिकालगायत देश जान पनि सकिन्थ्यो । सुवास भने आफ्नै देशका बिरामीलाई सेवा गर्ने उद्देश्य लिएर फर्के । उनी नेपाल फर्कंदा धेरैलाई यस उपचार पद्धतिबारे थाहा थिएन ।
सुरुमा उनले काठमाडौँका विभिन्न अस्पताल धाएर ‘न्युरो–इन्टरभेन्सन’का बारेमा बताउन थाले तर धेरैले यो विषयको डाक्टर आवश्यक छैन मात्रै भनेनन्, यो विधिबाट नेपालमा उपचार हुन नसक्ने समेत जिकिर गरे ।
त्यसपछि उनी आफूले सुरुमा काम गरेको अस्पताल (ग्रान्डी)मा गए र काम सुरु गरे, तर उनलाई बिरामीका आफन्तले नै पत्याउँदैनथे । ‘बिरामीले पनि अलिकति बुढो–पाको डाक्टर खोज्ने,’ सुवास भन्छन्, ‘तर पनि यस प्रविधिलाई नेपालमा स्थापित गर्नुपर्छ भन्ने थियो र हामी लागिप¥यौँ । यस सेवालाई प्रत्येक प्रदेशमा पु¥याउन आवश्यक छ । काठमाडौंबाहिर मस्तिष्कघातका बिरामी कति हुनुहुन्छ होला, जसलाई यसको उपचार सम्भव छ भन्ने नै थाहा छैन ।’
सुवासका अनुसार, न्युरो–इन्टरभेन्सनमार्फत उपचार गर्नका लागि पहिलो कुरा ‘क्याथ–ल्याब’ राम्रो हुनुपर्छ । सुरुमा क्याथ–ल्याब लगायत इस्ट्र्युमेन्ट जुटाउन पनि गाह्रो भएको उनी बताउँछन् । ‘सुरुमा त साथीहरूलाई इन्डियाबाट सामान ल्याउन लगाएर समेत केही केस हेरेको थिएँ,’ उनी भन्छन्, ‘मस्तिष्कघातको उपचार नेपालमै सम्भव छ भन्ने जानकारी धेरै डाक्टरलाई समेत नहुँदा सुरुमा मलाई गाह्रो भयो । सुरुका तीन–चार महिना कामै नहुँदा हरेस खाएको थिएँ । विदेश जानुपर्छ कि भनेर सोचेको पनि थिएँ । केही आशा बोकेर म आफैँले उपचारबारे प्रचार गर्न थालेँ, ठाउँ–ठाउँमा गएर गोष्ठी–सेमिनार गर्थे । क्रमशः न्युरोका डाक्टरले इन्टरभेन्सन पद्धतिबाट उपचार गर्ने एक जनामात्रै डाक्टर हुनुहुन्छ भनेर मकहाँ बिरामी पठाउन थाल्नुभयो र म व्यस्त भएँ ।’
यस उपचारबारे बिरामी र डाक्टरहरूलाई नै बुझाउन उनले तस्बिर र भिडियोको सहारा समेत लिए । भारतमा पढ्दा उपचार भएका बिरामीको फोटो र भिडियो उनले संग्रह गरेका थिए । ‘विभिन्न अस्पतालका न्युरो सर्जन, न्युरो विभागमा गएर पटक–पटक मैले ती फोटो र भिडियो देखाउन थालेँ,’ सुवास भन्छन्, ‘उपचारबाट निको भएको भिडियो र फोटो देखाउँदा देखाएर पनि धेरैलाई कन्भिन्स गरेँ ।’
९–१० जना बिरामीलाई निको पारेपछि अस्पतालले नै यस उपचारबारे प्रचार–प्रसार गर्न थाल्यो । त्यसपछि मानिसले थाहा पाउँदै गए । काठमाडौँ र बाहिर जिल्लाबाट बिरामी आउन थाले । यसरी नै ग्रान्डीमा एक वर्षजति बिताएपछि उनी सन् २०२० को अन्ततिर न्युरो अस्पताल बाँसबारीमा काम गर्न गए । त्यहाँ डा. उपेन्द्र देवकोटाको सपना रहेछ, ‘बाइप्लान क्याथ ल्याब’ सञ्चालनमा ल्याउने । यो थाहा पाएर यस अस्पतालका अध्यक्ष डा. मधु दीक्षित देवकोटासँग उनले कुरा गरेका थिए । ‘बाइप्लान क्याथ ल्याब’ राख्न निकै महँगो पर्छ । सुवास त्यस अस्पतालमा गएपछि नै यो ल्याब त्यहाँ सञ्चालनमा ल्याइएको छ ।
अहिले सुवासहरूले ‘न्युरो–इन्टरभेन्सन फाउन्डेसन’ दर्ता गरेका छन् । मस्तिष्कघात भएका असहाय, गरिब बिरामीको कसरी उपचार गर्न सक्छौँ भनेर योजना बनाइरहेको उनी बताउँछन् ।
न्युरो–इन्टरभेन्सनको विकास क्रम
‘न्युरो–इन्टरभेन्सन’ एक नयाँ पद्धति हो । ‘एनुरिजम’ उपचार करिब सन् १९९० बाट सुरु भएको हो । त्यतिबेला दिमागको नसाको समस्या पनि खुट्टा र घाँटीको नसाबाट हेरिन्थ्यो । क्रमशः सामानहरूको विकास हुँदै गयो । दिमागको नसा फुट्दा त्यसलाई बन्द गर्न डिभाइस चाहिन्थ्यो । त्यो डिभाइस आविष्कार भएपछि सन् २००० देखि दिमागको एनुरिजमको उपचार न्युरो–इन्टरभेन्सन पद्धतिबाट गर्न थालियो ।
सन् २०१५ मा ‘अमेरिकन स्ट्रोक एसोसिएसन’ र ‘हार्ट एसोसिएसन’ले कुनै ठूलो नसा बन्द भएमा उपचारका लागि न्युरो–इन्टरभेन्सन उपयुक्त पद्धति भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । यस पद्धतिबारे सन् २०१५ तिर ठुल्ठूला अध्ययन भए । ‘नेपालमा सन् २०१९ देखि मैले यस पद्धतिबाट उपचार गर्न थालेको हुँ । सन् २०२१ सम्म म एक्लै थिएँ । बिस्तारै बिस्तारै न्युरो–इन्टरभेन्सनका पद्धतिबाट उपचार गर्ने डाक्टर थपिनुभएको छ,’ सुवास भन्छन्, ‘हालसम्म न्युरो–इन्टरभेन्सन पद्धतिबाट नेपालमा एक हजार बढीको उपचार गरिएको छ । जसमा मस्तिष्कघातको मात्रै २०० वटा केसको उपचार गरिएको छ । दिमागको नसा फुलेर फुट्ने रोगको झन्डै २५० जनाको उपचार भएको छ ।’