टाउको नचिरी मस्तिष्कघातको उपचार सम्भव छ

Onlinekhabar

तथ्यांकले देखाउँछ, ‘विश्वमा प्रति ४० सेकेन्डमा एक जना स्ट्रोक (मस्तिष्कघात) हुने गरेको छ ।’ त्यस्तै प्रत्येक ४ व्यक्तिमा एक जना कुनै न कुनै समयमा स्ट्रोकबाट पीडित हुने देखिएको छ ।

विश्वमा हृदय रोगपछि मृत्युको दोस्रो कारण हो, मस्तिष्कघात । दीर्घकालिन रुपमा अशक्त बनाउने पहिलो कारण मस्तिष्कघातलाई मानिन्छ ।

ससर्ती सुन्दा त डर लाग्छ । तर, यदि लक्षण देखिनसाथ उपचार गर्ने हो भने मस्तिष्कघातबाट बच्न सकिन्छ । अनि, सामान्य जीवनमा फर्कन सकिन्छ ।

के हो मस्तिष्कघात ?

मस्तिष्कमा रक्त संचार बन्द हुने वा अचानक मस्तिष्कमा रगतको नसा फुट्ने आपतकालिन अवस्थालाई मस्तिष्क घात भनिन्छ । सामान्यतय मस्तिष्कघात  दुई किसिमको हुन्छ । एउटा स्केमिक स्ट्रोक र अर्को, हेमोरेजिकस्ट्रोक ।

मस्तिष्कको नसा बन्द भइ रक्तसंचार एक्कासी बन्द हुनेलाई स्केमिक स्ट्रोक भनिन्छ । यस्तोमा मस्तिष्कले अक्सिजन र पोषण रगतबाट पाउदैन । यी दुई विना दिमागको कोष विस्तारै मर्दै जान्छन् ।

त्यस्तै, मस्तिष्कमा एक्कासी रक्तको नसा फुटेर रगत प्रवाह हुनुलाई हेमोरेजिकस्ट्रोक भनिन्छ । नतिजा बगेको अत्याधिक रगतले दिमागको तन्तुहरुलाई दबाब दिइ क्षति पु¥याउँछ । यी दुई मस्तिष्कघातमध्ये धेरैलाई स्केकि स्ट्रोक हुनेगर्छ ।

कसलाई हुन्छ मस्तिष्कघात ?

उमेरले ५० नाघेका, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल जस्ता समस्या भएकाहरु यसका जोखिम बर्ग हुन् । त्यस्तै खानैपर्ने औषधि नखाएका वा खाँदै छाडेकालाई पनि मस्तिष्कघात हुनसक्छ । अनियन्त्रित खानपान, मोटोपन, व्यायाम नगर्ने, चुरोट तान्ने व्यक्तिलाई मस्तिष्कघात हुनसक्छ ।

कम उमेरमै मुटुको समस्या भएकाहरुमा मुटुमा रगत जमेर विस्तारै मस्तिष्कको नसासम्म पुगी मस्तिष्कघात हुनसक्छ ।

अचानक देखिन्छन् यस्ता लक्षण

मस्तिष्क घातको लक्षण छिटो देखिन्छ  । लक्षण देखिएको केहि क्षणमै अवस्था गम्भीर बन्न सक्छ, जुन एक घण्टा देखि एक दिनसम्म पनि हुनसक्छ ।

१. बोल्न कठिन हुनु, मुख बाङ्गिनु र बोली लर्बराउनु

२. शरीरको एक भाग अचानक कमजोरी अनुभव हुनु

३. अचानक टाउको दुख्नु

४. एक वा दुईआँखाले हेर्नमा कठिनाइ हुनु

५. हिँड्न, बस्न र उठ्न नसक्नु वा शरीरले आफ्नो सन्तुलन गुमाउनु

नसा फुटेर रक्तस्राव हुनुपूर्व अत्याधिक टाउको दुख्ने, वेहोस हुनेलगायतका लक्षण देखिन सक्छ ।

यी लक्षण एक्कासि देखिए तुरुन्त अस्पताल जानुपर्छ । खासगरी नसा खोल्नका लागि उपकरण भएको अस्पतालमा पुग्नु उत्तम हुन्छ । किनभने लक्षण देखिएको २४ घण्टाभित्र विस्तारै मस्तिष्कको कोष मर्दै जाने हँुदा एक÷एक मिनेटको महत्व हुन्छ । मरिसकेको तन्तु वा नसालाई केहि गर्न नसके पनि बाँकी भएकालाई नसामा भएको अवरोध खोलेर  रक्त संचार गराउन सकिन्छ । यसले बिरामी बाँच्ने संभावना बढ्छ ।

कसरी थाहा हुन्छ ?

सिटिस्क्यान, एन्जियोग्राफी र  एमआरआईबाट मस्तिष्कमा रगत बगिरहेको वा तन्तु र कोष कति क्षति पुगेको छ भनेर विस्तृतमा देखिन्छ । जसबाट उपचार प्रक्रिया कसरी गर्ने भन्नेबारे टुंगो गर्न सकिन्छ ।

के-के छ त उपचार ?

स्केमिक स्ट्रोक भएमा मस्तिष्कको सानो नसा बन्द भएको हुन्छ, जसमा थ्रम्बोलाइसिस औषधि दिएर जमेको रगतको ढिक्कालाई पगाल्न सकिन्छ । तर, ठुलो नसा बन्द भएको अवस्थामा औषधिले पगाल्न सक्दैन । तर, सो औषधि ठुलो नसा बन्द भएकालाई पनि दिइन्छ । ती मध्ये ५ प्रतिशत व्यक्तिमा मात्र पगाल्ने सम्भावना हुन्छ ।

औषधि दिएर पनि कुनै प्रभाव नदेखिएमा एउटै मात्र विकल्प बाँकी रहन्छ,  न्युरोइन्टरभेनसनल विधि ।  यसमा टाउकोको चिरफार नगरी भित्र–भित्रै नसाबाट मस्तिष्कसम्म तार पु¥याएर जमेको रगतले अवरोध भएको नसा खोलेर रक्त संचार गराइन्छ । यसलाई ‘मेकानिकल थ्रोम्बेक्टोमी’ भनिन्छ । तारबाट उपचार गरिएको छ भने सात दिनमै बिरामीलाई डिस्चार्ज दिन सकिन्छ ।

त्यस्तै हेमोरेजिक भएमा चिरफार र तारको माध्यम दुबैबाट उपचार गर्न सकिन्छ । यी दुई मध्ये तारबाट गरिने विधि प्रभावकारी मानिन्छ । यसमा टाउको खोलेर गर्ने शल्यक्रिया जति जटिल तारबाट गर्ने विधिमा नदेखिने र बिरामीलाई पनि तुलनात्मक रुपमा सहज हुन्छ  ।

नेपालमा ‘मेकानिकल थ्रोम्बेक्टोमी’को उपचार

चिरफार गरेर गरिने शल्यक्रिया धेरैजसो अस्पतालमा भए पनि विना चिरफार गरिने मेकानिकल थ्रोम्बेक्टोमी विधि थोरै अस्पतालमा मात्र छ ।

मेकानिकल थ्रोम्बेक्टोमी नँया प्रविधि सन् २०१९ बाट नेपालमा  उपलब्ध छ । यो सुविधा सरकारी अस्पतालमा छैन ।

हाल काठमाडौंको ग्रान्डी सिटी अस्पताल र न्यूरो अस्पतालबाँसबारीमा मात्र अत्याधुनिक मेसिन सहितको यो सुविधा छ । कुन अस्पतालमा यो उपचार सुविधा छ भन्ने पहिचान नहुँदा र समयमा उपचार नहुँदा पक्षघात हुने र ज्यान नै गुम्ने जोखिम छ ।

उपचार खर्च कति ?

यसको उपचार खर्च अलि महंगो नै छ ।  यसमा जरुरी उपकरण एकदमै महंगो हुने भएकाले पनि उपचार खर्च बढेको हो ।

यद्यपि सरकारी तवरबाट यस्तो मेसिन ल्याउन सके र सरकारी अस्पतालमा पनि यो सुविधा दिन सके धेरै सर्वसाधरणले विना चिरफार मस्तिष्कघातको उपचार पाउने थियो ।

(डा. फुयाल उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एण्ड एलाइट साइन्स अस्पतालका विभागिय प्रमुख हुन् । उनले सन् २०१९ मा नेपालमा पहिलोपटक थ्रोम्बोक्टोमी उपचार सेवा भित्राएका हुन्, जसबाट  विना चिरफार मस्तिष्कघातको उपचार सम्भव भएको छ ।)

source from: https://www.onlinekhabar.com/2023/07/1341358