मस्तिष्कघात र ब्रेन हेमोरेज : जब उनको एक्कासी देब्रे हातखुट्टा चलेन र बोली पनि बन्द भयो…

Nepalhealthnews

धादिङ निवासी २५ वर्षीया गृहिणी, रिता तमाङ (नाम परिवर्तित) को देब्रे हात र खुट्टा एक्कासी चलेन । बोली पनि बन्द भयो । परिवारले ३ घण्टामा अस्पताल पुर्याउन सफल भयो । स्क्यान गरेर हेर्दा दिमागमा रगत पुर्याउने मोटो नसा बन्द भएको रहेछ । तुरुन्त क्याथल्यावमा लगेर खट्टाको नसाबाट दिमागको बन्द भएको नसा सम्म सानो तारको सहायताले रगतको थेग्लो निकालियो ।

नसामा जमेको रगतको थेग्लो (क्लट) निकाल्ने बित्तिकै बिरामी पहिलाको जस्तै हातखुट्टा चलाउन सक्ने र बोल्न सक्ने हुनुभयो । यो सेवालाई मेडिकल भाषामा मेकानिकल थ्रोम्बेक्टोमी भनिन्छ ।

उक्त रगतको थेग्लो निकालेपश्चात् बिरामी पुनः पहिलेको जस्तै हिड्न, बोल्न सक्ने सम्भावना रहन्छ ।

मस्तिष्कघात (स्ट्रोक) को घटना समाजमा व्याप्त भए पनि जनचेतनाको कमी देखिन्छ । रुढिबादी उपचार पद्धतिमा विश्वास हुनु, यातायात सुविधाको अपर्याप्तता, भौगोलिक विकटता, साधन–श्रोतको अभाव र सिमित मात्रामा मात्र मस्तिष्कघात सम्बन्धि सेवाको उपलब्धताले निश्चित समयमा सही उपचार पाउन गाह्रो भएको देखिन्छ ।

मस्तिष्कघातलाई हामी ब्रेन अट्याक पनि भन्दछौ । दिमागको नसा बन्द भएर एक्कासी आइपर्ने समस्या हो यो । यसलाई मेडिकल इमरर्जेन्सीमा वर्गिकरण गरिएको छ ।

दिमागमा रगत लिएर जाने नसा एक्कासी बन्द हुँदा दिमागका कोशिकाहरू मर्दछन् । मरेका कोशिकालाई जीवित बनाउन सकिँदैन र यसले बिरामीको मृत्यु समेत हुन सक्दछ । बाँचिहालेमा जीवनभर विकलाङ्ग भई बाँच्नुपर्ने बाध्यता हुनसक्दछ । यसले मानसिक, सामाजिक र आर्थिक भार थपिन पुग्दछ । त्यसैले बन्द भएको दिमागको नसा जति सक्दो छिटो खोल्न आवश्यक हुन्छ । मस्तिष्कघातका लक्षणहरू देखिएमा जतिसक्दो छिटो स्ट्रोक सेवाका लागि तत्पर अस्पतालमा पुर्याउनुपर्दछ ।

विश्व मानचित्रमा चिकित्साशास्त्रले ठूलो फड्को मारेको प्रविधीमध्ये एक हो न्यूरोइन्टरभेन्सन । यस प्रविधीमा मस्तिष्कमा रगत लिएर जाने र लिएर आउने रक्तनलीमा भएका विभिन्न किसिमका जटिल रोगहरुको शल्यक्रिया टाउको नै नखोली गरिन्छ । विकसित मुलुकमा अब्बल ठहरिएको यो प्रविधी विगत केही वर्षदेखि नेपालमा पनि उपलब्ध हुँदै आएको छ । न्यूरो इन्टरभेन्सन प्रविधिको प्रयोगले ब्रेन हेमोरेज र मस्तिष्कघात जस्ता जटिल रोगको उपचार सहज, सरल र सफल बनाएको छ । (डा. फुयाल उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

 

source from: https://nepalhealthnews.com/news/2023/10/30/54858.html